मे २६, बोस्टन ।

नेपाल अमेरिका पत्रकार संघ (नेजा) को १७औं वार्षिक साधारण सभा म्यासाच्युसेट्स राज्यको बोस्टन सहरमा सम्पन्न भएको छ । बोस्टनस्थित पशुपतिनाथ बुद्ध मन्दिर तथा नेपाली सामुदायिक भवन (प्याब्फोन) मा मे २५ र २६ २०२४ मा सो कार्यक्रम सम्पन्न भएको हो । दुई दिनसम्म सञ्चालन भएको साधारण सभाले संघको विधानमा आवश्यक संशोधन गर्नुका साथै महासचिव बाबुराम दाहालद्वारा प्रस्तुत महासचिवको (सांगठनिक) प्रतिवेदन र कोषाध्यक्ष जानु पंगेनीद्वारा प्रस्तुत कोषाध्यक्षको (आर्थिक) प्रतिवेदन छलफलसहित पारित गरेको छ ।

म्यासाच्युसेट्स राज्यको बोस्टन सहरस्थित पशुपतिनाथ बुद्ध मन्दिर तथा नेपाली सामुदायिक केन्द्रको सभाकक्षमा आयोजना गरिएको साधारण सभाको उद्घाटन कार्यक्रममा बोल्ने पत्रकारिता क्षेत्रका अगुवा तथा नेपाली समुदायका अगुवाहरूले प्रवासमा नेपाली समुदायलाई बलियो बनाउन समुदाय तथा पत्रकार बीचको साझेदारी र सहकार्य  आवश्यक भएको बताउनुभएको थियो । 

नेपाल अमेरिका पत्रकार संघ (नेजा) का अध्यक्ष सुरज भण्डारीको अध्यक्षता तथा महासचिव बाबुराम दाहालको सञ्चालनमा सम्पन्न उद्घाटन कार्यक्रममा बोल्दै विशिष्ट अतिथि राष्ट्रिय मानव अधिकार आयोगकी आयुक्त लिली थापाले भौतिक रूपमा जहाँ भए पनि नेपालीभाषी मिडियाले नेपाली समुदायको पक्षमा वकालत गर्नुपर्ने विचार व्यक्त गर्नुभयो । आयोगका कार्यक्षेत्रमध्ये करिब १० वटा कार्यक्षेत्र पत्रकारिता क्षेत्रसँग सम्बन्धित रहेको बताउँदै नेपालमा मानव अधिकार, प्रेस स्वतन्त्रताको पक्षमा नेजासँग सहकार्य गर्न सकिने आयुक्त थापाको भनाइ थियो । 

यसैगरी, गभर्नर्स एडभाइजरी काउन्सिल अन रेफ्युजी एन्ड इमिग्रेन्ट अफ कमनवेल्थ, म्यासाचुसेट्सका चेयरमेन प्रह्लाद केसीले अमेरिकी मूलधारको राजनीतिमा नेपाली समुदायको सहभागिता बढाउन सकिएमा नेपाली समुदाय अझ सशक्त हुने धारणा व्यक्त गर्नुभयो । यसैगरी, राष्ट्रिय सूचना आयोगकी पूर्वआयुक्त तथा नेपाल पत्रकार महासंघका पूर्वउपाध्यक्ष यशोदा तिम्सिनाले प्रवासमा रहेका नेपाली समुदायबीच सही सूचना प्रवाह गर्न प्रवासी मिडियाले महत्त्वपूर्ण भूमिका खेल्नुपर्ने कुरामा जोड दिनुभयो । 

यस्तै, गैरआवासीय नेपाली संघ अमेरिकाका उपाध्यक्ष प्रेम तामाङले समुदाय बलियो बनाउन मिडियाको भूमिकाको चर्चा गर्दै एनआरएनए अमेरिकाले नेजासँगको सहकार्य र साझेदारीलाई अझ सुदृढ बनाउँदै लगिने बताउनुभयो । यसैगरी, गैरआवासीय नेपाली संघ अमेरिकाका मिडिया संयोजक सतीश चापागाईंले समुदायलाई सूचनाको माध्यमबाट सशक्तीकरण गर्न संघले छुट्टै मिडिया टिम निर्माण गरेको बताउँदै आगामी दिनमा यस कार्यमा नेजासँगको सहकार्यलाई थप प्रभावकारी बनाइने धारणा राख्नुभयो ।

नेजाका संस्थापक अध्यक्ष गिरीश पोखरेलले पछिल्लो समय अमेरिकामा नेपालीहरूको जनसंख्या वृद्धि भइरहेको अवस्थामा नेपाली मिडियाले सूचना तथा सञ्चारको माध्यमबाट समुदायको एकता र सशक्तीकरणमा  भूमिका निर्वाह गर्नुपर्ने बताउनुभयो । उक्त कार्यक्रममा नेजाका पूर्वअध्यक्ष भोला आचार्यले नेजा नेपाली मूलका पत्रकारहरूको छाता संस्था भएकाले पेसागत रूपबाट निष्पक्ष पत्रकारिताको माध्यमबाट नेपाली समुदायलाई ऐक्यबद्ध बनाउन भूमिका खेल्नुपर्नेमा जोड दिनुभयो ।

यसैगरी, नेजाका अध्यक्ष सुरज भण्डारीले उत्तर अमेरिकामा रहनुभएका नेपाली समुदायलाई सुसूचित गर्ने र नेपाली पत्रकारितालाई व्यावसायिकतातर्फ अगाडि बढाउने पहलकदमी सुरू गरिएको बताउनुभयो । यसका लागि नेजा र समुदायबीचको सम्बन्धलाई थप प्रगाढ र विश्वसनीय बनाउन आफू लागिपरेको बताउनुभयो । 

यसैगरी, नेजाको १७औं साधारण सभाका कन्भेनरसमेत रहनुभएका सुपेन्द्र बस्नेतको स्वागत मन्तव्य र नेजाका उपाध्यक्ष सुजन पण्डितको धन्यवाद मन्तव्य रहेको कार्यक्रममा शुभकामना मन्तव्य व्यक्त गर्नेहरूमा बोर्ड अफ एजुकेसन ब्रानफोर्ड टाउन कनेन्टिकटका डाइरेक्टर रामचन्द्र श्रेष्ठ, ब्रानफोर्ड टाउन रेप्रिजेन्टेटिभद्वय चिरन न्यौपाने र ज्ञानु श्रेष्ठ, नेपाल सरकारका पर्यटन प्रवर्धक मिलन गुरुङ, नेजाका संस्थापक सदस्य  शिव प्रकाश, सञ्चारकर्मी नारायण श्रेष्ठ, खेल पत्रकार विनोद पाण्डे, अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास), एनआरएनए म्यासाच्युसेट्स च्याप्टर, पशुपतिनाथ बुद्ध फाउन्डेसन अफ न्यू इङ्ल्यान्ड (प्याब्फोन), अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज, म्यासाच्युसेट्स च्याप्टर, नेपाली वोमन्स ग्लोबल नेटवर्क न्यू इंग्ल्याण्ड च्याप्टर (NWGN) बोस्टनलगायत हुनुहुन्थ्यो ।

यस्तै, कार्यक्रममा नेपाल सरकारका पर्यटन प्रवर्धकद्वय विनोद अधिकारी र गोकुल श्रेष्ठ, नेजाका संस्थापक सदस्य लेखनाथ भण्डारी, वरिष्ठ सञ्चारकर्मी रामप्रसाद खनाल, फोनिजका पूर्वअध्यक्ष मोहनसिंह लामा, नेजाका पूर्वकार्यसमिति सदस्य दिनेश कार्की, डीसी नेपालबाट अर्जुन दाहाल, यूएस खबरबाट ओम आचार्य, अनेसास सचिव नारायण अधिकारीलगायतको सहभागिता रहेको थियो । 

यसैगरी, न्यू इङ्ल्यान्ड क्षेत्रमा रहेका क्रियाशील नेपाली समुदायका संघ-संस्थाहरू गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् (NRNA) अमेरिका – म्यासाच्युसेट्स च्याप्टर, न्यू ह्यामसायर च्याप्टर, कनेक्टटिकेट च्याप्टर,  अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास)-अमेरिका, पशुपतिनाथ बुद्ध फाउन्डेसन अफ न्यू इङ्गल्यान्ड- बोस्टन, ग्रेटर बोस्टन नेपाली कम्युनिटी (GBNC) – बोस्टन, अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज – म्यासाच्युसेट्स च्याप्टर, बोस्टन तमु समाज, बोस्टन गुरुङ समाज, ब्लड डोनर्स अफ अमेरिका – म्यासाच्युसेट्स च्याप्टर, खेलकुद आईएनसी – बोस्टन, बोस्टन लोक सुसेली, मेट्रो वेस्ट नेपाली कम्युनिटी – नरउड, केपकोट नेपाली समाज – म्यासाच्युसेट्स, सृजनशील नेपाली महिला समूह – न्यू इङ्ल्यान्ड, तराई एसोसिएसन अफ म्यासाच्युसेट्स, नेवा अर्गनाइजेसन अफ न्यू इङ्ल्यान्ड, युनाइटेड किराँत राई अर्गनाइजेसन अफ अमेरिका, हेल्थ फाउन्डेसन नेपाल, नरउड लायन्स क्लब, न्यू ह्यामसायर नेपाली कम्युनिटी, नेपाली वोमन्स ग्लोबल नेटवर्क न्यू इङ्ल्यान्ड च्याप्टर (NWGN), अन्तर्राष्ट्रिय नेपाली समाज – न्यू ह्याम्पसायर च्याप्टर, नेपाली जनसम्पर्क समिति – म्यासाच्युसेट्स, प्रवासी नेपाली मञ्च – म्यासाच्युसेट्स, नेपाली क्लास बोस्टन – म्यासाच्युसेट्स, न्यू ह्याम्पसायर तमु समाज, थकाली सेवा समिति – बोस्टन, अमेरिकन फ्यामिली केयर – नरउड, गुरुङ सोसाइटी अफ न्यू ह्याम्पसायर, सोसाइटी अफ नेप्लिज इन अमेरिका – ब्रान्डफोर्डलगायतको सहभागिता रहेको थियो । 

यसैगरी, साउन्ड सिस्टममा डीजे सन्दिप इन्टरटेन्मेन्ट र प्राविधिक सहयोग विराज गुरुङले गर्नुभएको थियो भने फोटो तथा भिडियोमा सुरेन्द्र नापित, ओम आचार्य, डीबी राउत, हेमन्त श्रेष्ठ, शिव मिश्रले सहयोग गर्नुभएको थियो । 

यो कार्यक्रम विश्व प्रेस स्वतन्त्रता दिवसको थिम ‘वातावरणीय संकटको सामनामा पत्रकारिता’ लाई मध्यनजर गरी नेजाको १७औं वार्षिक साधारण सभा उद्घाटन बिरुवामा पानी राखेर गरिएको थियो । यस्तै, सक्रिय बस्नेतद्वारा नेपाल तथा अमेरिकाको राष्ट्रिय गीत प्रस्तुत गरिएको थियो भने प्रेस स्वतन्त्रताका लागि बलिदान दिनुहुने पत्रकार एवं अमेरिकाको स्वतन्त्रताका लागि अमेरिकी सेनामार्फत  सेवा गर्ने क्रममा सहादत्त प्राप्त सैनिकहरूप्रति श्रद्धासुमन अर्पणसमेत गरिएको थियो । कार्यक्रमा नेजाले वार्षिक रुपमा प्रकाशन गर्दै आएको ‘प्रयास’ स्मारिका विमोचन गरिएको थियो । 

नेजाका उपाध्यक्ष सुजन पण्डितको धन्यवाद मन्तव्य र कन्भेनर सुपेन्द्र बस्नेतको स्वागत मन्तव्य रहेको १७औं साधारण सभामा नेजा कार्यसमितिको तर्फबाट कोषाध्यक्ष जानु पङ्गेनी, क्षेत्रीय संयोजकहरू रोशन अधिकारी, शंकर थापा, सृजना काफ्ले र कार्यसमिति सदस्य ईश्वरी न्यौपानेको सहभागिता रहेको थियो ।