आज मे ३ अर्थात् विश्व प्रेस स्वतन्त्रता दिवस । प्रेस स्वतन्त्रताको महत्त्व र आवश्यकताका सन्दर्भमा विश्वलाई जागृत गराउन यस दिवसको विशेष महत्त्व रहेको छ । मानव अधिकार र नागरिकको नैसर्गिक अधिकारसँग प्रेस स्वतन्त्रता जोडिएको हुन्छ । संयुक्त राष्ट्र संघको निकाय युनेस्कोको आयोजनामा नामिबियाको विन्डहक सहरमा सन् १९९१ को डिसेम्बरमा भएको पत्रकार, प्राध्यापक र स्वतन्त्रता पक्षधरहरूको भेलाले स्वतन्त्र एवं बहुलवादी प्रेसका लागि विन्डहक घोषणा-पत्र जारी गरेको थियो । तत्पश्चात्  युनेस्कोको सिफारिसमा सन् १९९३ मा भएको  संयुक्त राष्ट्र संघको महासभाले  मे ३ लाई विश्व प्रेस स्वतन्त्रता दिवसको रुपमा मनाउने भनी घोषणा गरेको थियो । सोही घोषणासँगै विश्वभर मे ३ मा विश्व प्रेस स्वतन्त्रता दिवस मनाउन लागिएको हो । 

प्रेस स्वतन्त्रताका आधारभूत सिद्धान्तहरूको जगेर्ना गर्ने, विश्वभर प्रेस स्वतन्त्रताको अवस्थाको मूल्याङ्कन गर्ने, सञ्चारमाध्यमलाई आफ्नो स्वतन्त्रतामाथिको आक्रमणबाट बचाउने, निर्भीक पत्रकारिताका अवरोधको पहिचान गर्ने सन्दर्भमा यो दिवसको विशेष अर्थ रहेको छ । विश्व प्रेस स्वतन्त्रता दिवस मनाउन सुरु गरेको वर्षदेखि अहिलेसम्म आइपुग्दा कुनै न कुनै रूपबाट पत्रकारिता र प्रेस स्वतन्त्रताको मुद्दालाई कमजोर पार्ने कार्य भइरहेको देखिन्छ । प्रेस स्वतन्त्रतालाई पूर्णत: उपयोग गर्न नदिने विभिन्न  तरिकाबाट प्रयास भइरहेको पाइन्छ । पछिल्लो समय नयाँ-नयाँ प्रविधि निर्माण र माध्यमको सुरुवातले पत्रकारितालाई सरल, सहज र सबैको पहुँचमा पुर्याउन विशेष सहयोग पुगे पनि यससँगै स्वतन्त्रतामा कुण्ठित हुन सक्ने चिन्तासमेत बढेर गएका छन् । यसतर्फ पनि चिन्तन गर्नुपर्ने आवश्यकता देखिएको छ । 

पछिल्लो समय विभिन्न कारणले बढ्दै गएको शक्तिराष्ट्रहरूबीचको तनाव र विभिन्न देशबीच, देशभित्र आन्तरिक द्वन्द्वहरूले पत्रकारमाथि खतरासमेत बढाएको छ । डर र त्रासका कारण स्वतन्त्रतापूर्वक पत्रकारिता गर्न नसकिने ‘खतरा’ उत्तिकै बढेको छ । यस अवस्थामा विश्व प्रेस स्वतन्त्रताको महत्त्व अझ बढी बुझाउनु आवश्यक बनेको छ । नेपालको सन्दर्भमा पनि लोकतान्त्रिक, संघीय शासन व्यवस्थाका बीच संविधानले नै प्रेस स्वतन्त्रतालाई सुनिश्चित गरेको अवस्था रहे पनि विभिन्न स्वरुपमा प्रेस स्वतन्त्रतालाई कुण्ठित गर्ने प्रयास भएको पाइन्छ । साइबर क्राइमका नाममा होस् वा सम्मानित अदालतको आदेशको भरमा होस् निर्भीक पत्रकारिता गर्ने अवस्थालाई कहीँ न कहीँ असहज अवस्था देखिने गरेको देखिन्छ । यी यस्ता प्रेस स्वतन्त्रतामा अंकुश लाग्न सक्ने सम्भावित अवस्थाप्रति बृहत् र खुला बहस  तथा छलफलको आवश्यकता खड्किएको छ । सँगसँगै नेपाल बाहिर पनि भावनाको ‘मिनी नेपाल’ हरेकजसो देशमा बन्दै गएको छ । त्यहाँ पनि नेपाली र नेपाल जोड्ने पत्रकारिता फस्टाइरहेको छ । त्यहाँको पत्रकारितासँग पनि जोडिएर धेरै प्रेस स्वतन्त्रताका सवालहरू सतहमा आउने अवस्था बन्दै गएको छ ।

आचार-संहिताभित्र रहेर गरिने पत्रकारिताभित्र पनि डरयुक्त संकोचले गर्दा प्रेस स्वतन्त्रताको पूर्ण प्रत्याभूत गर्न नसकिएको अवस्था छ । यसतर्फ पनि सम्बद्व सबैले सोच्न जरुरी छ । साझा ढंगबाट आचार-संहिता निर्माण गर्दै प्रेस स्वतन्त्रताको पूर्ण प्रयोग गर्न सक्ने गरी पत्रकारिता गर्ने वातावरण निर्माण गर्नु हामी सबैको साझा दायित्व हो । 

युनेस्कोले हरेक वर्ष विभिन्न विषयवस्तु ‘थिम’मा रहेर विश्व प्रेस स्वतन्त्रता दिवस मनाउँदै आएको छ । यो वर्ष युनेस्कोले ‘अ प्रेस फर द प्लानेट: जर्नालिज्म इन द फेस अफ द इन्भाइरोमेन्टल क्राइसिस’ थिम दिएर विश्व प्रेस स्वतन्त्रता दिवस मनाउँदै छ । यस महत्त्वपूर्ण दिवसमा नागरिक अधिकारको विषय प्रेस स्वतन्त्रताका पक्षधर सबैमा हार्दिक शुभकामना । 

 

सुरज भण्डारी
अध्यक्ष
नेपाल अमेरिका पत्रकार संघ (नेजा)
मे ३, २०२४ ।