नेजाको सातौं अधिवशेन तथा १४औं साधारण सभाबाट पारित महासचिवको प्रतिवेदन
नेपाल अमेरिका पत्रकार संघ (नेजा) को सातौं अधिवशेन तथा १४औं साधारण सभाबाट पारित
महासचिव (किरण मरहट्ठा) को प्रतिवेदन ।
आदरणीय अध्यक्षज्यू, नेपाल अमेरिका पत्रकार संघको कार्यसमिति, सल्लाहकारज्यूहरू तथा संस्थाका सम्मानित सदस्यज्यूहरू एवं उपस्थित सम्पूर्ण साथीहरू,
हाम्रा अग्रज पत्रकारहरू, जसले यो अर्को विश्वमा पनि नेपाली मौलिक पहिचान, कला, संस्कृति र पेसागत अपनत्वलाई जीवन्त राख्ने प्रयास गरे । उनीहरू,जसको दूरदर्शिताको परिणामस्वरुप आज हामीलाइ यो मञ्च, अभिमत र एकबद्धता मिलेको छ, जसले यो संस्थालाइ अभिभावकत्व प्रदान गर्दै विशाल बनाउन अहोरात्र खट्नुभयो । सन् २००७ को एक तुसारे साँझमा भर्जिनियामा नेजा नजन्मिएको भए के आज यो सबै सम्भव थियो ? जवाफ हामीसँगै छ । तसर्थ, सर्वप्रथम नेजाका तिनै संस्थापक र अग्रज अभियन्ताहरूलाई साधुवाद तथा आभार व्यक्त गर्न चाहन्छु ।
म यस सन्दर्भमा अफ्रिकाका पत्रकारहरू जसले विन्डोक घोषणामार्फत सन् १९९१ मा स्वतन्त्र प्रेसको सिद्धान्त जारी गरे उनीहरूप्रति धन्यवाद व्यक्त गर्दछु ।
वासिङटन राज्यको सुन्दर सहर सियाटलमा जुलाई २२, २०१८ मा पदभार ग्रहण गरेपश्चातको यो अवधिमा मुख्य गरी पत्रकारिताको विकास र समुदायसँग नेजा भन्ने मुलमन्त्रलाई आत्मसात् गर्दै आफ्ना गतिविधिहरू सञ्चालन गरेको हो । नेपाल अमेरिका पत्रकार संघ (नेजा) उत्तर अमेरिकामा रहेका समस्त नेपाली संघ-सस्थाहरूसँग समन्वय गर्दै, समुदायलाइ सु–सूचित गर्ने अभियानमा सक्रिय छ र यो हाम्रै समाजको एक अभिन्न अंग हो भन्ने सन्देश प्रवाह गर्न हामी सफल भएका छौं । यस सन्दर्भमा अमेरिकाका विभिन्न सहरहरूमा नेजाले अमेरिकामा नेपाली पत्रकारितालाई उत्प्रेरणा मिल्ने एवं सामुदायिक संस्थाहरूसँग हातेमालो गर्ने विभिन्न कार्यक्रमहरू सञ्चालन गरेको छ, जसलाई म २ भागमा विभाजन गरी व्याख्या गर्ने अनुमति चाहन्छु ।
नेजालाई एनआरएनए अमेरिकाको स्वागतः
नयाँ कार्यसमिति चयन भएलगत्तै एनआएएनए अमेरिकाले डालसमा नेजाको नवनिर्वाचित कार्यसमितिलाइ स्वागत कार्यक्रम आयोजना गरेको थियो । नेजा कार्यसमितिका अधिकांश सदस्यहरू उपस्थित सो कार्यक्रमले नेजा-एनआरएनए सम्बन्ध थप मजबुत बनाउन सहयोग गरेको थियो । सो कार्यक्रम संयोजनका लागि एनआरएनए मिडिया संयोजक बाल जोशीलाई हार्दिक धन्यवाद ज्ञापन गर्न चाहन्छु ।
नेपालमा नेजाको साख वृद्धिः
नयाँ कार्यसमिति चयनलगत्तै अगष्ट २०१८ मा तत्कालीन अध्यक्ष सुदिप पन्तले नेपाल पुगी विभिन्न राष्ट्रिय संघ-संस्थाहरू तथा सञ्चारसंस्थाहरूसँग भेटघाट तथा अन्तर्क्रिय गर्नुभएको थियो । त्यस अवसरमा नेपाल पत्रकार महासंघको सभाकक्षमा एक अन्तरक्रिया आयोजना गरी तत्कालीन सञ्चारमन्त्री कृष्णबहादुर महरा, नेपाल पत्रकार महासंघका अध्यक्ष गोविन्द आचार्य, निर्वतमान अध्यक्ष तथा नेपाल टेलिभिजनका अध्यक्ष महेन्द्र विष्टलगायतको उपस्थितिमा अमेरिकामा नेपाली पत्रकारिताको विकास र पत्रकारको एकतामा नेजाले खेलेको भूमिकाको बारेमा जानकारी गराउनुभएको थियो । त्यस अवसरमा नेजा ग्रामीण पत्रकारिता पुरस्कारसमेत प्रदान गरिएको थियो । नेपाल पत्रकार महासंघ सगको सहकार्यमा वितरण गरिने सो पुरस्कार कुम्भ राईलाई प्रदान गरिएको थियो ।
साथै, अध्यक्ष पन्तले, जेसिज, लायन्स, उद्योग वाणिज्य संघजस्ता प्रतिनिधिमूलक संघ-संस्थाहरूसँग अन्तरक्रिया गरी नेजाले गरेका कामहरूको बारेमा नेपालमा सकारात्मक प्रभाव पार्न सफल हुनुभएको थियो । त्यस्तै यो संस्थाका सचिव सुरज भण्डारी नेपाल जानुभएको समयमा नेपाल पत्रकार महासंघका विभिन्न पदाधिकारीहरूसँग भेट गरी अन्तरक्रिया गर्नुभएको थियो । यी कार्यक्रमहरूले हामीले प्रवासमा गरेका कर्मको साखः अवश्य बढाएको छ ।
क) सामुदायिक पत्रकारिताको उत्प्रेरणामा नेजाः
अमेरिकामा नेपाली पत्रकारिताको इतिहास आफैंमा पुरानो छैन तर यसको विकास क्रम र आजको स्थिति भने पक्कै पनि प्रशंसनीय छ । डिजिटल पत्रिकाको विकासले यसलाई अझ उत्साहजनक स्थितिमा पुर्याएको हो । पत्रकारिताको मापन स्वयं पत्रकारितामा संलग्न रहनेले आत्ममूल्यांकनको पाटो हो तर पनि नेजाले समाजले मिडिया र पत्रकारलाई सम्मानित ढंगले बुझ्नका लागि आवश्यक पहल गर्दै
आएको छ ।
नेजाले विभिन्न समयमा सञ्चालन गरेका विचार गोष्ठी तथा अन्तरक्रियाहरूले हाम्रो पत्रकारिताको विकासलाई थप गतिशिल बनाएको छ जसको संक्षिप्त विवरण यसरी पेस गर्न चाहन्छु ।
१. वर्तमान कार्यसमितिले सबैभन्दा पहिलो कार्यक्रम न्युयोर्कमा गरेको हो । जुलाई २६, २०१८ मा भएको सो कार्यक्रममा पत्रकार कबिर राणासँग न्युयोर्कका पत्रकार र सामुदायिक अगुवाहरूले प्रत्यक्ष अन्तरक्रिया गरेका थिए । त्यस अवसरमा प्रवासको नेपाली पत्रकारिता, छापा सञ्चारमाध्यमले आजको युगमा भोगिरहेका चुनौतीहरू र अनलाइन पत्रिकाको विश्वसनियताको बारेमा बहस भएको थियो । ज्याक्सन हाइट्मा सम्पन्न कार्यक्रममा सहभागी पत्रकार तथा सामुदायिक अगुवाले अनलाइन पत्रिकाको प्रभाव र पहुँच शक्तिशाली भएको तर्क पेस गरे तापनि पत्रकार राणाले छापा पत्रकारिताको विश्वसनियता अझ कमजोर नभएको तर्क पेस गरेका थिए । उनको यो भनाइलाई धेरै सञ्चारमाध्यमहरूले समाचारमा समेत विशेष स्थान दिएका थिए । महासचिव किरण मरहठ्ठाले संयोजन गरेको सो कार्यक्रमको सञ्चालन उत्तर पूर्व क्षेत्रीय संयोजक कल्पना घिमिरेले गर्नुभएको थियो ।
२. जुलाइ २८ तारिख अर्को कार्यक्रम टेक्ससको डालसमा आयोजना गरियो । जसमा प्रमुख वक्ताको रुपमा नेपाल पत्रकार महासंघका अध्यक्ष गोविन्द आचार्य सहभागी रहनुभएको थियो । डालसका स्थानीय अगुवाहरूको ठुलो उपस्थिति रहेको सो कार्यक्रममा नेपाल र प्रवासको पत्रकारिता, प्रवासका पत्रकारका चुनौतीहरू, समुदायको अपेक्षा र समाचार सन्तुलनको बारेमा व्यापक बहस भएको थियो । कार्यक्रममा अध्यक्ष आचार्यले नेजालाई कुनै पनि प्रकारको सहयोग गर्न तयार रहेको प्रतिबद्धता व्यक्त गरेका थिए । करिब १ सय जना उपस्थित सो कार्यक्रमको सञ्चालन सचिव सुरज भण्डारीले गर्नुभएको थियो भने संयोजन मध्य क्षेत्रका क्षेत्रीय संयोजक रामचन्द्र भट्ट र सभापतित्व उपाध्यक्ष (हालका कार्यबाहक अध्यक्ष) बिकासराज न्यौपानेले गर्नुभएको थियो ।
३. नेजा सामुदायिक अन्तरक्रियाकै सन्दर्भमा अर्को कार्यक्रम पश्चिम क्षेत्रीय संयोजक गोकुल ढकालको संयोजकत्वमा लस एन्जल्समा सम्पन्न भयो । अगष्टमा आयोजित सो कार्यक्रममा करिब १ सय को संख्यामा पत्रकार, व्यवसायी तथा अन्य सामुदायिक अभियन्ताहरूको सहभागिता रहेको थियो । कार्यक्रममा नेपाली कला, संस्कृतिको संरक्षण तथा विस्तारमा नेपाली मिडियाले सकारात्मक भूमिका निर्वाह गरेको भन्दै सहभागीहरूले प्रशंसा गरेका थिए । कार्यक्रम नेजा अध्यक्ष सुदिप पन्तको अध्यक्षतामा सम्पन्न भएको थियो ।
४. अगस्ट ७, २०१८ मै न्युयोर्कका पत्रकार र नेपाल पत्रकार महसंघका अध्यक्ष गोविन्द आचार्यबीच एक अन्तरक्रिया सम्पन्न भयो । कार्यक्रमको संयोजन महासचिव किरण मरहठ्ठाले गर्नुभएको थियो भने नेजा सल्लाहकार तथा पूर्वअध्यक्ष आङछिरिङ शेर्पाले सहजीकरण गर्नुभएको थियो ।
५. नयाँ वर्ष २०१९ को सुरुवातमै नेजा डीसी मेट्रो क्षेत्रका साथीहरूको पहलमा भर्जिनियामा एक भव्य अन्तरक्रिया सम्पन्न भयो । जनवरीमा सम्पन्न कार्यक्रममा अध्यक्ष सुदिप पन्त, संस्थापक अध्यक्ष गिरिश पोखरेल, सल्लाहकार गौतम दाहाल, योगेश उपाध्याय पत्रकारहरू राजेश मिश्र, हरि अधिकारीलगायतको उपस्थिति थियो । सचिव सुरज भण्डारीले सञ्चालन गर्नुभएको कार्यक्रमको संयोजन क्षेत्रीय संयोजक लीला ओझा र सदस्यहरू निदेश अधिकारी तथा बाबु खरेलले संयुक्त रुपमा गर्नुभएको थियो । कार्यक्रमले नेजाले आगामी दिनमा निर्वाह गर्नुपर्ने भूमिका, समुदायलाई जोड्न मिडियाको दायित्व तथा नेपाली मिडियाको व्यावसायिकताको बारेमा सहभागीहरूले तार्किक बहस गरेका थिए ।
६. न्युयोर्कमा अर्को भव्य अन्तक्रिया कार्यक्रम सम्पन्नः भर्जिनियाको कार्यक्रमलगत्तै अर्को दिन जनवरीमै नेजा सामुदायिक अन्तरक्रिया नाम दिइएको सो कार्यक्रममा नेपाली महाबाणिज्य दूतावास न्युयोर्कका बाणिज्य दूत कृसु क्षेत्री, नेपाली अवैतनिक महबाणिज्य दूत ऋषि ढकाल, अध्यक्ष सुदिप पन्त, सचिव सुरज भण्डारी, संस्थापक अध्यक्ष गिरिश पोखरेल, सल्लाहकार गौतम दाहाल, पत्रकार राजेश मिश्र तथा स्थानीय व्यवसायी, समाजिक अभियन्ता तथा एनआरएनए नेताहरू गरी १ सय १० जनाको उपस्थिति थियो । सो अन्तरक्रियामा सहभागी अधिकांश सामाजिक अभियन्ताहरूले आफ्नो गतिविधिले मिडियामा उचित स्थान नपाएको भन्दै रोष प्रकट गरेपछि पत्रकार राजेश मिश्रले सामाजिक अभियन्ताको विभाजित मानसिकता र संकीर्णताको बारेमा लामो टिप्पणी गर्नुभएको थियो । निक्कै घोचपेच र तातो बहसमाझ सम्पन्न कार्यक्रमले पत्रकारको तटस्थता, मिडियामा आचारसंहिता र एनआरएनए र मिडियाको सहकार्यको बारेमा विशेष निष्कर्ष निकालेको थियो । महासचिव किरण मरहठ्ठाले सञ्चालन गर्नुभएको कार्यक्रमलाई संयोजन क्षेत्रीय संयोजक कल्पना घिमिरेले गर्नुभएको थियो भने व्यवस्थापन कोषाध्यक्ष मच्छेदेवी गुरुङले गर्नुभएको थियो ।
७. पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईसँग अन्तरक्रियाः पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईसँग समसामयिक विषयमा केन्द्रित रहेर टेक्ससको डालस सहर आसपास रहने पत्रकारहरूको सहभागितामा सेप्टेम्बरमा अन्तरक्रिया कार्यक्रम गरिएको थियो । उपाध्यक्ष बिकासराज न्यौपानेको अध्यक्षता र सचिव सुरज भण्डारीको सञ्चालनमा भएको कार्यक्रमको संयोजन क्षेत्रीय संयोजक रामचन्द्र भट्टले गर्नुभएको थियो ।
८. परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीसँग अन्तरक्रियाः नेपाल सरकारका परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीसँग टेक्ससको डालसमा अन्तरक्रिया तथा पत्रकार भेटघाट कार्यक्रम सम्पन्न गरिएको थियो । सेप्टेम्बरमा गरिएको अन्तरक्रियामा दर्जनभन्दा बढी पत्रकारहरूको सहभागिता रहेको थियो । कार्यक्रमको अध्यक्षता संस्थाका उपाध्यक्ष विकाराज न्यौपानेले र सञ्चालन सचिव सुरज भण्डारीले तथा संयोजन क्षेत्रीय संयोजक रामचन्द्र भट्टले गर्नुभएको थियो ।
९. अमेरिकामा विभिन्न अधिकारीहरूसँग छलफल तथा अन्तरक्रियाः अमेरिकाको न्युयोर्क सहरमा अमेरिकाको न्युयोर्क सिटी काउन्सिल सदस्यहरू तथा अमेरिकाको मुल धारको राजनीतिमा अगाडि बढिरहेका व्यक्तित्वहरूसँग अन्तरक्रिया गरिएको
थियो । सो अवसरमा सिटी काउन्सिल सदस्यहरूले न्युयोर्क सहरको कुनै एक स्ट्रिटको नाम नेपालीपन झल्कने गरी राख्न आफूहरू तयार रहेको जनाउनुभएको थियो ।
१०) प्राध्यापक श्रीराम पौडेलसँग अन्तरक्रियाः पत्रकारिता विषयका प्राध्यापक श्रीराम पौडेलसँग अन्तरक्रिया कार्यक्रम टेक्ससको डालस सहरमा सम्पन्न गरिएको थियो । कार्यक्रममा डालस सहर आसपास रहनुभएका सञ्चारकर्मीहरूको उपस्थिति रहेको
थियो ।
११) नेजा एनआरएनए चुनावी बहसः विगतदेखि नै सञ्चालन गर्दै आएको नेजा-एनआरएनए बहसलाई केन्द्रित गरी यो कार्यसमितिको कार्यकालभित्र गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद्को दुई पटक निर्वाचन भएकाले वर्ष २०१९ देखि २०२१ र २०२१ देखि २०२३ सम्मलाई लक्षित गरी नेजा एनआरएनए बहस कार्यक्रम सम्पन्न भएका थिए ।
एनआरएनए अमेरिकाको वर्ष २०१९ देखि २०२१ सम्म लक्षित बहस कार्यक्रमअन्तर्गत नेजाको मार्चमा बसेको कार्यसमितिको सातौं बैठकले एनआरएनएको चुनावी बहस भर्जिनिया, लस एन्जलस, डालस र न्युयोर्कमा बहस सञ्चालन गर्ने गरी पश्चिम क्षेत्रीय संयोजक गोकुल ढकाललाई संयोजक तोक्यो । अन्य क्षेत्रीय संयोजकहरू सदस्य रहेको सो समितिले भर्जिनियामा गत अप्रिल १४ मा, लस एन्जलसमा अप्रिल २१ मा, डालसमा १३औं साधारण सभाको दौरान मे ५ मा र न्युयोर्कमा मे ११ मा बहस कार्यक्रम गरिएको थियो ।
यस्तै, एनआरएनए अमेरिकाको २०२१ देखि २०२३ सम्म लक्षित नेजा एनआरएनए डिबेट भने यस पटक टेक्ससको डलास सहरमा गरिएको थियो । मे २३, २०२१ मा गरिएको डिबेटका अध्यक्ष पदका चार प्रत्यासीसहित अमेरिकाभर एनआरएनएका अभिन्यताहरू त्था सञ्चारकर्मीहरूको सहभागिता रहेको थियो । संघका कार्यबाहक अध्यक्ष विकासराज न्यौपाने अध्यक्षता, महासचिव किरण मरहठ्ठाको सहजीकरण, सचिव सुरज भण्डारीको सञ्चालन र क्षेत्रीय संयोजक रामचन्द्र भट्टको स्वागत मन्तव्य रहेको कार्यक्रममा नेपाल पत्रकार महासंघका पूर्वअध्यक्ष हरिहर विरही, निवर्तमान अध्यक्ष भोला आचार्य, सल्लाहकार तारा बराललगायत कार्यसमिति सदस्यहरूको उपस्थिति रहेको थियो । सो अवसरमा एनआरएनए अमेरिकाका अध्यक्ष सुनील साहले नेजा–एनआरएनए बहस प्रसंशनीय कार्यक्रम रहेको भन्दै यसलाई आगामी दिनमा अमेरिकाका कम्तिमा १० सहरमा गर्नका लागि एनआरएनए अमेरिकाले पहल गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो । नेजा बहसअघि संघले टेक्ससमा रहनुभएका पत्रकार साथीहरू आसन्न अधिवेशन र बहसलाई लक्षित गरी अन्तरक्रिया समेत गरेको थियो ।
प्रवासमा रहने नेपालीहरूको प्रतिनिधिमूलक संस्थाको रुपमा रहेको गैरआवासीय नेपाली संघ अमेरिकाको आसन्न निवार्चनका उम्मेद्वारहरूको भनाइ मतदाता गैरआवासीय नेपाली र उम्मेद्वारहरूलाई मतदाता तथा गैरआवासीय नेपालीले प्रश्न गर्न सकून् भन्ने अभिप्रायले नेजाले पुलको रुपमा यो कार्यक्रम गरिएको हो । यसले समुदायमा एनआरएनएको हिजो, आज र भोलिको अवस्थाबारे बुझ्न सघाउ पुगेको छ ।
आर्थिक सहयोग प्रदानः
विभिन्न समयमा संघले सहयोग गर्नुपर्ने र परी आउने समयमा आर्थिक संकलन गरी सहयोग गरेको छ । त्यसको विस्तृत विवरण कोषाध्यक्षज्यूको प्रतिवेदनमा आउने नै छ ।
- पूर्व क्षेत्रीय संयोजक विष्णुहरि घिमिरेको उपचारका लागि सहयोग अभियान
नेपाल अमेरिका पत्रकार संघका पूर्वउत्तरपूर्व क्षेत्र संयोजक विष्णुहरि घिमिरे अचानक बिरामी परी अस्पतालमा भर्ना भई लामो समयसम्म उपचार गर्नुपर्ने पिडादायी अवस्था आएपछि दुःख-सुःखमा नेजा परिवार एक छौं र हुनुपर्छ, त्यसैको निम्ति संघ खोलिएको इतिहास सम्झँदै आन्तरिक तहबाट संघले उपचारमा केही भए पनि सहयोग पुगोस् भनी सहयोग संकलनको कार्य अघि बढाएको थियो । आन्तरिक रुपबाट सर्कुलर गरी संघले गरेको आर्थिक संकलन परिवारलाई उपलब्ध गराइएको थियो ।
- पत्रकार जयदेव गौतम सहयोग अभियानः
नेपाल अमेरिका पत्रकार संघ (नेजा)ले स्थापनादेखि नै सक्रिय रहँदै आउनुभएका पत्रकार जयदेव गौतमको उपचारमा सहयोगका लागि नेजाले आफ्नो सक्रियतामा रकम संकलन गरी हस्तान्तरण गरेको थियो । संस्थाका डीसी मेट्रो क्षेत्रकी संयोजक लीला ओझा, संस्थापक अध्यक्ष गिरीश पोखरेल, सदस्यहरू निदेश अधिकारी, बाबु खरेल, लेखनाथ भण्डारीलगायतले यसमा समन्वयकारी भूमिका खेल्नुभएको थियो ।
यसैगरी, अमेरिकाको सान्फ्रान्सिस्कोमा भएको एनआरएनए विज्ञ सम्मेलनमा सहभागी हुन नेपालबाट अमेरिका आउनुभएका पत्रकार सरोज दाहाल अचानक बिरामी हुनुभई अस्पताल भर्ना गरिएकाले त्यसका लागि उहालाई सहयोग गर्न नेजाले पहल गरेको थियो ।
- पत्रकार विरहीको उपचारमा सहयोगका लागि आर्थिक संकलन
क्यान्सर रोगसँग लडिरहनुभएका अग्रज पत्रकार तथा साहित्यकार रेशम विरहीको उपचारमा सहयोग गर्न नेपाल अमेरिका पत्रकार संघले आर्थिक संकलन गरेको थियो ।
नेपाल पत्रकार महासंघले विरही र अर्का सुर्खेतका पत्रकार डिलप्रसाद शर्माको उपचारका लागि आर्थिक सहयोग गर्न आग्रह गरेपश्चात नेजाले सहयोग संकलन गरेको थियो । नेजाले आफ्नो खाताबाट २ सय १ डलर राखेर ‘गो फन्ड मी’ को सुरुवात गरेको थियो ।
- महासंघका पूर्वसचिव बानियाँको परिवारलाई सहयोग
नेपाल पत्रकार महासंघका पूर्वसचिव बलराम बानियाँको असामयिक निधनपश्चात उहाँको परिवारलाई सहयोगका लागि नेपाल अमेरिका पत्रकार संघले आर्थिक संकलन कार्य गरेको थियो । संघले संकलन गरेको रकम नेपाल पत्रकार महासंघमार्फत स्व. बानियाँको परिवारलाई उपलब्ध गराइएको थियो ।
नेजा आकस्मिक कोषः
संस्थाको आफ्नै आकस्मिक कोष हुँदा आवश्यक परेको खण्डमा संस्थाका सदस्यहरूलाई सहयोग पुर्याउन सकिने गरी नेजा आकस्मिक कोषको आवश्यकता खड्किएको छ । सधैंभरि संस्थाको नियमित खाताबाट सहयोग गर्न सम्भव पनि नहुने र संस्थामा समेत सीमित रकम मात्रै हुने भएकाले त्यसबाट सहयोग गर्न सहज नहुने देखिन्छ । यसका लागि आकस्मिक कोष बनाउने अवधारणा अगाडि बढाउँदै त्यसलाई मूर्त रुप दिन यो कार्यसमितिले कार्य अगाडि बढाएको थियो ।
नेजा सामुदायिक पत्रकारिता पुरस्कारको निरन्तरताः
उत्तर अमेरिकामा रहेर पत्रकारितामा संलग्न पत्रकारहरूलाई सामुदायिक पत्रकारितामा अझ बढी उत्प्रेरित गर्ने उद्देश्यले नेपाल अमेरिका पत्रकार संघ (नेजा) ले सामुदायिक पत्रकारिता पुरस्कारको स्थापना गरी वितरण गर्दै आएको छ ।
टेक्ससको डलासमा भएको साधारण सभामा पत्रकार शिव शर्मालाई उक्त पुरस्कारबाट पुरस्कृत गरिएको थियो । पुरस्कारको स्थापनामा टेक्ससका व्यवसायी गौरीराज जोशी संस्थापक रहनुभएको आमा फाउन्डेसनले सहयोग गर्दै आएको छ । यसका लागि फाउन्डेसनप्रति आभार व्यक्त गर्दछौं । सो पुरस्कार छनोट गर्नका लागि महासचिव किरण मरहठ्ठाको संयोजकत्वमा पत्रकार होम लम्साल र ज्योति देवकोटा सदस्य रहनुभएको एक मूल्यांकन समिति बनाइएको थियो । त्यस समितिमा रहनुहुने पत्रकारद्धयलाई समेत धन्यवाद दिन चाहन्छु ।
ग्रामीण पत्रकारिता पुरस्कार घोषणाः
नेपाल पत्रकार महासंघसँगको समन्वयमा नेपाल अमेरिका पत्रकार संघ(नेजा)ले प्रदान गर्दै आएको ग्रामीण पत्रकारिता पुरस्कार रसुवाकी पत्रकार अनु आचार्यलाई प्रदान गरिने भएको छ । पत्रकार महासंघले वरिष्ठ उपाध्यक्ष रमेश विष्टको संयोजकत्वमा गठन गरेको छनोट समितिले सिफारिस गरेका तीन पत्रकारहरूमध्ये नेजाले पूर्वअध्यक्ष भोला आचार्यको संयोजकत्वमा गठन गरेको छनोट समितिले पुरस्कारका लागि आचार्यलाई सिफारिस गरेको हो । उहाँलाई नेजासँगको समन्वयमा पत्रकार महासंघले एक कार्यक्रमको आयोजना गरी पुरस्कार वितरण
गर्नेछ ।
छात्रवृत्ति स्थापना कार्यक्रम सुरुवातको तयारीः
अमेरिकामा आमसञ्चार तथा पत्रकारिता अध्ययनरत विद्यार्थीलाई सहयोग पुर्याउने उद्देश्यले छात्रवृत्ति कोष स्थापना गर्ने तयारी अगाडि बढाइएको छ । यसका लागि नेजासँग सहकार्य गर्न व्यवसायी यमुना भट्टराईले इच्छा जाहेर गर्नुभएअनुरुप कार्य अघि बढाइएको छ । उहाँसगको छलफल टुंगोमा पुगेलगत्तै ३ हजार राशिको अक्षयकोष बनाएर अगाडि बढ्न सकिनेछ । पत्रकारिता अध्ययनरत विद्यार्थीलाई यस छात्रवृत्ति रकम उपलब्ध गराउनेबारे प्रारम्भिक छलफल भएको छ ।
छात्रवृत्ति कार्यक्रममा एनआरएनए अमेरिकासग सहकार्यः
नेपाल अमेरिका पत्रकार संघ (नेजा) र गैरआवासीय नेपाली संघ अमेरिकासँग सहकार्य गरेर छात्रवृत्ति कार्यक्रमलाई अगाडि बढाउने गरी छलफल अघि बढाइएको छ । एनआरएनए अमेरिकाले प्रदान गरिरहेको छात्रवृत्ति कार्यक्रम पनि नेजासँग समन्वय गरी प्रदान गर्ने विषयमा अनौपचारिक रुपमा एनआरएनए पदाधिकारीहरूसग छलफल अगाडि बढाइएको छ ।
लेखनवृत्ति, तालिम तथा सेमिनारः
पत्रकारहरूलाई लेख्नलाई उत्प्रेरित गर्नका लागि लेखनवृत्ति, फेलोसिप र छात्रवृतिका लागि सहजीकरण गर्ने अवधारणा अगाडि सार्दै त्यसका लागि विभिन्न विश्वविद्यालय, दातृनिकाय र गैरसरकारी संघ-संस्थाहरूसँग छलफल अघि बढाइएको छ भने विभिन्न विषयमा तालिम तथा सेमिनार गर्नेतर्फ संस्थाले ध्यान पुर्याउनेछ ।
नेजा अनलाइन बहसः
नेपाल अमेरिका पत्रकार संघ (नेजा)ले अनलाइनमार्फत नेजा बहस सञ्चालन गरिएको थियो । कोभिड-१९ को विश्वव्यापी महामारीलाई लिएर यससँग सम्बन्धित विभिन्न विषयमा केन्द्रित रहेर नेजाको आधिकारिक फेसबुक पेजबाट अनलाइन बहस सञ्चालन गरिएको थियो ।
कोभिड-१९ का सम्बन्धमा चेतनामूलक कार्यक्रमका साथै विश्वभर रहनुहुने नेपालीले भोग्नुपरेको समस्या, यसका असर र गर्न सकिने प्रयासलाई लिएर विभिन्न व्यक्तित्वहरूलाई जोडेर अनलाइन बहस चरणबद्ध रुपमा सञ्चालन गरिएको थियो । यस दौरान एनआरएनए अमेरिकाका पदाधिकारीहरू, एनआरएनए आईसीसीका पदाधिकारीहरू, चिकित्सक, सञ्चार विज्ञलगायत पेसाकर्मीहरू बहसमा जोडिनुभएको थियो ।
नेपाली पर्व लक्षित कार्यक्रमः
नेपाल अमेरिका पत्रकार संघ (नेजा) को समन्वयमा टेक्ससको डलासमा भएको अन्तरक्रिया कार्यक्रममा अन्तर्राष्ट्रिय पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्रा. डा. माधवप्रसाद भट्टराईलगायतका व्यक्तित्वहरूसँग अन्तरक्रिया कार्यक्रम गरिएको थियो । अमेरिकाको नेपाली समुदायमा नेपाली चाडपर्व, तिथिका बारेमा पछिल्लो समयमा चासो र चिन्ता बढ्दै गएकाले संघले समन्वय गरी कार्यक्रम गरेको थियो । नेजाका कार्यवाहक अध्यक्ष विकासराज न्यौपानेको सभापतित्वमा भएको कार्यक्रमको सञ्चालन सचिव सुरज भण्डारीले गर्नुभएको थियो । कार्यक्रम आयोजना गर्नुको उद्देश्यका बारेमा क्षेत्रीय संयोजक रामचन्द्र भट्टले प्रष्ट्याउनुभएको थियो । कार्यक्रममा उपस्थित सञ्चारकर्मी तथा सहभागीहरूले निकै चाखपूर्ण रूपमा जिज्ञासा राखेका थिए ।
संघको १३औं साधारण सभा भव्य रुपमा सम्पन्नः
नेपाल अमेरिका पत्रकार संघ (नेजा) को १३औं वार्षिक साधारण सभा मे ४ र ५, २०१९ मा टेक्ससको डालस सहरमा सम्पन्न भएको छ । साधारण सभाअन्तर्गत उद्घाटन कार्यक्रमका विशिष्ट अतिथि नेपाल पत्रकार महासंघका पूर्वसभापति किशोर नेपाल रहनुभएको थियो । नेजा अध्यक्ष सुदिप पन्तको सभापतित्व, महासचिव किरण मरहठ्ठाको सञ्चालन, उपाध्यक्ष विकासराज न्यौपानेको स्वागत र सचिव सुरज भण्डारीले धन्यवाद ज्ञापन गनुर्भएको थियो । उद्घाटन कार्यक्रममा एनआरएनए अमेरिकाजका क्षेत्रका तत्कालीन क्षेत्रीय संयोजक गौरीराज जोशी, एनआरएनए अमेरिकाका वरिष्ठ उपाध्यक्ष सुनील साह, अमेरिकाको मेरिल्यान्ड राज्यका विधायक ह्यारी भण्डारी, नेजाका सल्लाहकार तारा बराल , एनआरएनका सल्लाहकार हरिबोल भण्डारी, शैलेशराज आचार्य, नेपाली समाज टेक्ससका अध्यक्ष सुमन थापा, नेप्लिज अमेरिकन चेम्बरका अध्यक्ष मनोज सिग्देल, नेपाली आध्यात्मिक तथा सांस्कृतिक केन्द्र बोर्ड अफ ट्रष्टीका विनय अर्याललगायतले शुभकामना व्यक्त गर्नुभएको थियो ।
पत्रकार शिव शर्मालाई नेजा सामुदायिक पत्रकारिता पुरस्कारबाट पुरस्कृत गरियो । टेक्ससको आमा फाउन्डेशनको सहकार्यमा नेपाल अमेरिका पत्रकार संघ (नेजा) ले वितरण गर्दै आएको नेजा सामुदायिक पत्रकारिता पुरस्कारबाट पुरस्कृत पत्रकार शर्मालाई नेजाको १३औं साधारण सभाको अवसरमा १ हजार १ सय ११ अमेरिका डलरसहित, दोसल्ला तथा सम्मानपत्रद्धारा पुरस्कृत गरिएको थयो । यसैबीच, पुरस्कार स्थापनामा सहयोग पुर्याउनुभएका आमा फाउन्डेसनका संस्थापक गौरीराज जोशीलाई समेत सम्मान गरिएको थियो ।
विश्व प्रेस स्वतन्त्रा दिवसको अवसरमा नेजाको अन्तरक्रियाः
नेपाल अमेरिका पत्रकार संघ (नेजा) ले विश्व प्रेस स्वतन्त्रता दिवसको अवसरमा ३ मे, २०२० मा अन्तरक्रिया कार्यक्रम सम्पन्न गर्यो । ‘जुम एप’मार्फत गरिएको अन्तरक्रिया कार्यक्रममा नेपाल पत्रकार महासंघका अध्यक्ष गोविन्द आचार्य, महासंघका पूर्वअध्यक्ष तथा फ्रिडम फोरमका अध्यक्ष तारानाथ दाहाल, वरिष्ठ पत्रकार तथा नेपाल प्रेस इन्स्टिच्युटका कार्यकारी निर्देशक तीर्थ कोइराला, नेजाका निवर्तमान अध्यक्ष भोला आचार्यलगायतको सहभागिता रहेको थियो । नेजाका महासचिव किरण मरहठ्ठाले सञ्चालन गर्नुभएको कार्यक्रमको अध्यक्षता कार्यबाहक अध्यक्ष विकासराज न्यौपाने र कार्यक्रमको औचित्यमाथि नेजाका मध्यक्षेत्रीय संयोजक रामचन्द्र भट्टले प्रकाश पार्नुभएको थियो ।
राजदूतसँग अन्तरक्रियाः
नेपाल अमेरिका पत्रकार संघ(नेजा)ले अमेरिकाका लागि नेपाली राजदुत डा. अर्जुनकुमार कार्कीसँग अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । कोरोनाका महामारीबाट अमेरिकामा रहेका नेपालीमा परेको प्रभाव, दूतावासको भूमिका अनि संचारकर्मीहरूसँगको दूतावासको अपेक्षासँग अन्तरनिहित रही ‘जुम एप’मार्फत अन्तरक्रिया ३ मे, २०२० मा गरिएको थियो । सो अवसरमा संचारकर्मीहरूले विभिन्न जिज्ञासाहरू राजदूतसमक्ष राख्नुभएको थियो ।
अमेरिकी जनप्रतिनिधिसँग अन्तरक्रियाः
नेपाल अमेरिका पत्रकार संघ (नेजा) ले २ नोमेम्बर २०१८ मा न्युयोर्कमा अमेरिकामा दक्षिण एसियाली समुदायको अवसर र चुनौती विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न गर्यो । अमेरिकी सरकारका विभिन्न अंगका जनप्रतिनिधिहरूको कार्यक्रममा सहभागिता रहेको थियो । कार्यक्रममा न्युयोर्क सिटि काउन्सिलका सदस्य रोरी ल्यान्सम्यान, काउन्सिल सदस्य कोष्टा कन्सटेन्टिनीडेस, एनआरएनए अमेरिकाका तत्कालीन महासचिव बाबुराम लामा, हिमालयन डेमोक्रेटिक क्लबका अध्यक्ष मोहन ज्ञवाली, कम्युनिटी बोर्ड सदस्य नवराज केसी, बंगाली समुदायका अगुवा जोय चौधरी, नेपाल विद्यार्थी संघ अमेरिकाका अध्यक्ष प्रभात सापकोटा, गैरआवासीय नेपाली संघ (एनआरएनए) न्युयोर्क च्याप्टरका तत्कालीन सभापति रामहरि अधिकारीलगायतले धारणा राखेका थिए ।
नेपाल पत्रकार महासंघका अध्यक्षसँग डालसमा अन्तरक्रियाः
नेपाल पत्रकार महासंघका अध्यक्ष गोविन्द आचार्यको सहभागितामा नेजाले पत्रकार र समुदायका अगुवाहरूबीचमा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । नेजाका उपाध्यक्ष विकासराज न्यौपानेका अध्यक्षता, सचिव सुरज भण्डारीको सञ्चालन र क्षेत्रीय संयोजक रामचन्द्र भट्टले स्वागत मन्तव्य राख्नुभएको कार्यक्रममा अमेरिकाका तत्कालीन वरिष्ठ उपाध्यक्ष सुनील साह, नेपाली समाज टेक्ससका अध्यक्ष सुमन थापा, नेजाका निवर्तमान अध्यक्ष भोला आचार्य, एनआरएन अमेरिकाका सचिव होमनाथ गौतम, एनआरएनए अमेरिकाका मिडिया कोर्डिनेटर बाल जोशी, बोर्ड अफ डाइरेक्टरहरू डा. अर्जुन बन्जाडे, कृष्ण लामिछाने, अमृत (सुरेश) कट्टेल, एनआरएन टेक्ससका अध्यक्ष भानु खरेल, एनआरएन अमेरिकाका पूर्वउपाध्यक्ष राम सी पोखरेल, प्रवासी मञ्चका उपाध्यक्ष यमुना भट्टराई, जनसम्पर्क समिति डालस फोर्टवर्थका सभापति ज्ञानेन्द्र कार्की, सचिव दिनेश शर्मा, यूएनएका संस्थापक पासाङ लामा, एएनएका महासचिव विजयराज भट्टराई, एनआरएन अमेरिकाका युवा संयोजक स्वराज खाती, डालस एभरेष्ट लायन्स क्लबका पूर्वअध्यक्षहरू शिव काफ्ले र केशव लामिछाने, नर्थ डालस नेपाली समाजका अध्यक्ष बादल भुजेल, नेप्लिज अमेरिकन चेम्बर अफ कमर्सका उपाध्यक्ष सुरज पौडेल, पत्रकार सुशील चौधरीलगायतको सक्रिय सहभागिता थियो ।
पत्रकारद्वयलाई अवार्ड प्रदानः
संघले ‘लाइफटाइम अचिभमेन्ट अवार्ड’ पत्रकार सुरेशचन्द्र पोखरेल र लेखनाथ भण्डारीलाई प्रदान गरेको थियो । संघको सियाटलमा सम्पन्न छैटौं अधिवेशनमा अवार्ड घोषणा गरिएको थियो । नेजामा सुरुबाटै आबद्ध पत्रकारद्वयले नेपालमा पनि झन्डै डेढ दशकसम्म पत्रकारिता गर्नुभएको थियो ।
संघद्वारा बधाई तथा शुभकामना ज्ञापनः
संघले गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद् अमेरिकाको वर्ष २०२१ देखि २०२३ सम्मको कार्यकालका लागि प्रवक्तामा मनोनीत हुनुभएकोमा नेपाल अमेरिका पत्रकार संघका पूर्व महासचिव तथा आजीवन सदस्य तोया दाहाल, एनआरएनए अमेरिकाको वर्ष २०१९ देखि २०२१ सम्मका संचार संयोजक सतीश चापागाईं, संघका पूर्वअध्यक्ष भोला आचार्य, आङछिरिङ शेर्पा, सदस्य संजय घिमिरे, दिवाकर बागचन्द, नेपाल पत्रकार महासंघको अन्तर्राष्ट्रिय विभाग सदस्य तथा नेपाल पत्रकार महासंघका नवनिर्वाचित अध्यक्ष विपुल पोखरेललगायत सिंगो कार्यसमिति, एनआरएनए अमेरिकाको नवनिर्वाचित कार्यसमितिलाई बधाई तथा शुभकामना व्यक्त गरेको छ ।
न्युयोर्कमा सामुदायिक भेलाः
नेपाल अमेरिका पत्रकार संघ (नेजा) ले फेब्रुअरी २३, २०२० आइतबारका दिन न्युयोर्कमा सामुदायिक भेला सम्पन्न गरेको छ । भेलामा पत्रकार र समुदायका अभियन्ताहरूको सहभागिता रहेको थियो । संघका कार्यबाहक अध्यक्ष विकासराज न्यौपानेको अध्यक्षता, महासचिव किरण मरहठ्ठाको संचालनमा भएको कार्यक्रममा उत्तर-पूर्व क्षेत्र संयोजक कल्पना घिमिरेले स्वागत गर्नुभएको थियो भने धन्यवाद ज्ञापन कोषाध्यक्ष मच्छेदेवी गुरुङले गर्नुभएको थियो ।
अन्त्यमा, तत्कालीन अध्यक्ष सुदीप पन्त, कार्यबाहक अध्यक्ष विकासराज न्यौपाने एवं कार्यसमिति, सल्लाहकारज्यूहरू, सदस्यज्यूहरू, प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा सहयोग गर्नुहुने व्यक्तित्वहरू तथा उपस्थित सम्पूर्णलाई हार्दिक धन्यवाद दिन चाहन्छु । यो प्रतिवेदन तयार पार्न सहयोग गर्नुहुने सचिव सुरज भण्डारीज्यूलाई पनि धन्यवाद व्यक्त गर्दछु ।
धन्यवाद ।